बारा | पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी एउटै कम्प्लेक्स बनाउने प्रस्तावमा चितवनले असहमति जनाएको छ ।
एउटै टिकटमार्फत दुवै निकुञ्ज घुम्न पाउने वा निश्चित अतिरिक्त शुल्कमा पर्सासम्म प्रवेश सहज बनाउने प्रस्ताव अघि सारिएको थियो । प्रारम्भिक चरणमा चितवन राष्ट्रिय निकुञ्जले असहमति जनाए पनि विभागीय निर्णय भए सहयोग गर्ने संकेत दिएको स्रोतले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एउटै टिकटमा चितवनसम्म र चितवनबाट प्रवेश गरेका पर्यटकलाई पर्सासम्म सफारी गर्न मिल्ने व्यवस्था गर्न एक वर्षअघि नै विभाग तथा वन मन्त्रालयमा प्रस्ताव पठाइएको थियो । गत वर्ष चैत २१ गते सम्पन्न ४०औं वार्डेन सम्मेलनले पनि एउटै टिकटबाट दुई निकुञ्ज घुम्न सक्ने प्रस्तावलाई समर्थन गरेको थियो ।
तर मन्त्रालयस्तरको प्रारम्भिक छलफलमा चितवन निकुञ्जका तत्कालीन प्रशासक तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति सकारात्मक नभएको जनाइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार पहिलो प्रस्तावमा असहमति आएपछि वैकल्पिक रूपमा २५ सय रुपैयाँ टिकट शुल्कमा चितवन आएका पर्यटकलाई एक दिन पर्सा भ्रमण गर्न सक्ने प्रस्ताव अघि सारिएको छ ।
हाल चितवनमा विदेशी पर्यटकले प्रतिव्यक्ति २ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । थप ५ सय रुपैयाँ तिरेपछि पर्सा पनि घुम्न सकिने व्यवस्था गर्न प्रस्ताव विभागमा पठाइएको उनले जानकारी दिए । सरकारको निर्णय भए यो योजना तत्काल कार्यान्वयन हुन सक्ने पनि उनले बताए ।
तथ्यांकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा वार्षिक करिब १ हजार पर्यटक मात्र आउने गरेका छन् भने चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ५० हजारदेखि ३ लाखसम्म पर्यटक पुग्ने गर्छन् । चितवनबाट वार्षिक ३० देखि ३५ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेको छ भने पर्साले भने हालसम्म काठ–दाउरा बिक्रीबाहेक अन्य उल्लेखनीय आम्दानी लिन सकेको छैन ।
खतिवडाका अनुसार चितवन अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्रान्ड भएकाले पर्साले प्रतिस्पर्धा गर्नु कठिन छ। त्यसैले एकीकृत रूपमा पर्यापर्यटन विकास गर्न संयुक्त टिकट प्रणाली प्रस्ताव गरिएको हो ।
उनका अनुसार यस्तो व्यवस्थाले दुवै निकुञ्जको समन्वित विकास हुने, पर्यटन व्यवसायी, स्थानीय तह तथा मधेश प्रदेशले लाभ लिन सक्नेछन् । साथै, चितवनमा पाइने धेरैजसो दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी पर्सामा पनि पाइने भएकाले पर्साको सम्भावना उच्च रहेको उनले बताए ।