काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न अनुमति दिइएको छ ।
बुधबार जिल्ला अदालत पुगेर तारेख बुझेका लामिछानेले सोही क्रममा वारेसको अनुमति माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनको मागबमोजिम आदेश जारी गरेको हो ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार तारेख बुझेपछि लामिछानेलाई वारेसमार्फत मुद्दा लड्न अनुमति दिइएको हो ।
उनले भने, “उहाँले वारेसका लागि अनुमति माग गर्नुभएको थियो, आज अनुमति भएको छ ।”
यससँगै अब लामिछानेलाई तारेखका लागि पटक–पटक पर्सा अदालत पुग्नुपर्ने छैन । सानो पाइला सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा विचाराधीन छ ।
लामिछाने फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।