बजारमा अन्डाको मूल्य पुनः वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघ ले आइतबारदेखि लागू हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको हो ।
संघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरिएको छ ।
अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४६० रुपैयाँ थियो। त्यस्तै, ठूलो (लार्ज) अन्डाको मूल्य ४५० रुपैयाँ कायम गरिएको छ, जुन पहिले ४३५ रुपैयाँ थियो भने मिडियम अन्डाको मूल्य ४०० रुपैयाँ तोकिएको छ, जुन यसअघि ३८५ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।
संघका सचिव मदन पोखरेल का अनुसार किसानसँगको निरन्तर छलफल र कार्यसमितिको निर्णयअनुसार उत्पादन लागत बढ्दै जाँदा बजार सन्तुलन कायम राख्न मूल्य समायोजन गर्नुपरेको हो ।
चितवनलाई आधार मानेर निर्धारण गरिएको उक्त मूल्य फार्मबाट खरिद गर्दा लाग्ने मूल्य हो । संघका अनुसार चितवनबाट देशका विभिन्न सहरका डिपोमा अन्डा ढुवानी गर्दा भाडा, कार्टुन र क्रेट खर्चबापत थप १४५ रुपैयाँसम्म लागत लाग्नेछ ।
नयाँ मूल्य निर्धारणसँगै बजारमा खुद्रा मूल्य पनि बढ्ने निश्चित भएको छ, जसको प्रत्यक्ष प्रभाव उपभोक्तामा पर्ने देखिन्छ ।