बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई बारा जिल्ला अदालतमा दाखेल गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेको अवस्थामा उनीहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
चेक अनादर मुद्दामा एक महिना कैद र ३ हजार रुपैयाँ दण्ड सजाय पाएका कलैया उपमहानगरपालिका वडा नं.१९ का ४९ वर्षीय ओसि महम्मद ठकुराईलाई प्रहरीले पक्राउ गरेको हो ।
चेक अनादर मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका – ६ का ६५ वर्षीय मोहनलालप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।
चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका–६ का ४६ वर्षिय महाबिर कुमार गुप्ता पनि पक्राउ परेका छन् ।
चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका – ३ का रोहित मिललाई समेत प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै नकवजनी मुद्दामा ५ हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका – ६ का ३५ वर्षीय राजा हुसेन मिया धोवीलाई प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा १ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका – ३ का ४२ वर्षीय राधेश्याम पटेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।