रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
बुधबार राति जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले क्यासिनोमा छापा मार्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार क्यासिनोमा जुवा खेलाउने र खेलिरहेका नेपाली नागरिकलाई नगदसहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सर्लाहीको बरहथवा–८ का मुकेशकुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका–१५ का अजय केसी जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
त्यस्तै, जुवा खेलिरहेको अवस्थामा रुपन्देहीको बुटवल–१२ का गोविन्द शर्मा, बुटवल–९ का वासुदेव गौतम र कृष्ण गौतम तथा बुटवल–११ का चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार क्यासिनोबाट २ लाख १७ हजार ३ सय ९० रुपैयाँ नेपाली नगद र ३ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको छ ।
त्यसैगरी १ लाख २५ हजार रुपैयाँ बराबरका क्यासिनो क्वाइन, विभिन्न कम्पनीका ६ थान मोबाइल सेट तथा ७ गड्डी तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
सीएमजी क्लब क्यासिनोका सञ्चालक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र साह कलवार रहेको बताइएको छ। सर्लाही–३ बाट निर्वाचित साहका अन्य चार स्थानमा पनि क्यासिनो सञ्चालनमा रहेको दाबी गरिएको छ ।
साहको सेन्ट्रल मिडिया प्रालिमार्फत क्यासिनोहरू सञ्चालनमा रहेको र अदालतको अन्तरिम आदेशका आधारमा विभिन्न स्थानमा क्यासिनो सञ्चालन गर्दै आएको आरोप लगाइएको छ। यसका कारण राज्यलाई वार्षिक करोडौं रुपैयाँ राजस्व घाटा भइरहेको दाबी समेत गरिएको छ ।