सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही र महोत्तरीको बीच सडकखण्डमा अवैध रूपमा दुम्सी मारेर लैजाँदै गरेका चार जनालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाका अनुसार जनकपुरबाट सर्लाहीतर्फ आउँदै गरेको क्रममा बुधबार राति करिब ९:३० बजे बाँकेतर्फ जाँदै गरेका बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरका दुई मोटरसाइकललाई शंकास्पद देखेर चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा ती मोटरसाइकलबाट चार वटा ठूला र दुई वटा साना गरी छ वटा दुम्सी मारिएको अवस्थामा फेला परेको उनले बताए । पक्राउ परेकाहरूबाट कोदालो, बेल्चा, गल/खन्ती र हँसिया लगायतका घरेलु हातहतियार समेत बरामद गरिएको वन कार्यालयले जनाएको छ ।
पक्राउ परेका चार जनालाई दुई मोटरसाइकलसहित सब डिभिजन वन कार्यालय लक्ष्मिनिया हुँदै आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय महोत्तरीमा बुझाइएको छ ।
वन ऐनअनुसार अनुमति बिना वन्यजन्तु मार्ने वा ओसारपसार गर्ने कार्य कानूनी अपराध मानिन्छ र यसमा कैद तथा जरिवानाको व्यवस्था रहेको वन कार्यालयले जनाएको छ ।