ठगी तथा सङ्गठित अपराध मुद्दाका प्रतिवादी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले वारेस (प्रतिनिधि) नियुक्त गर्ने अनुमति दिएको छ ।
सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । लामिछानेले स्वास्थ्य समस्या र काबुबाहिरको परिस्थितिका कारण तारेखमा नियमित उपस्थित हुन नसक्ने भन्दै वारेस नियुक्त गर्न अनुमति माग गरेका थिए ।
उनको पक्षबाट अधिवक्ता रामचन्द्र देवकोटाले बहस गर्दै स्वास्थ्य अवस्था र मुद्दाको प्रकृतिलाई ध्यानमा राखेर वारेसको सुविधा दिन आग्रह गरेका थिए । अदालतले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई मुख्य आधार बनाएको छ। रिपोर्टमा लामिछानेको प्रोस्टेटसम्बन्धी समस्या रहेको उल्लेख छ ।
अदालतको आदेशमा लामिछानेले ५४ लाख रुपैयाँ धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेको र मुद्दा मिलापत्र हुन सक्ने प्रकृतिको भएकाले वारेसको अनुमति दिन उपयुक्त देखिएको उल्लेख गरिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५(२) अनुसार दिइएको आदेशसँगै अब लामिछानेले आफ्नो तर्फबाट प्रतिनिधि पठाएर कानुनी प्रक्रिया पूरा गर्न सक्नेछन् ।
उनी सोमबार पनि तारेखका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका थिए ।