सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दामा फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घरेलु हिंसाका १०, कुटपिटका दुई, जालसाजीका एक र चेक अनादर मुद्दाका एक जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अग्निसाईर कृष्णसावरण गाउँपालिका–२ का रामकुमार चौधरी र नवीनकुमार चौधरीलाई तीन महिना कैदसहित १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यस्तै, सोही क्षेत्रका बसन्त चौधरी, सूर्यनारायण सिंह, हिरन चौधरी, सूर्यनारायण चौधरी, विवेक पौडेल, उर्मिला चौधरी, नारायण चौधरी र रामसागर चौधरीलाई जनही तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
यसैगरी कुटपिट मुद्दामा साविक जोगिनियाँ–१ का रामप्रसाद मुखियालाई ७२ रुपैयाँ र विनोद मुखियालाई ९६ रुपैयाँ जरिवाना गरिएको थियो ।
अदालतले तोकेको सजाय तथा जरिवाना पश्चात फरार रहेका ती सबै १४ जनालाई पक्राउ गरी सोमबार सप्तरी जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् ।