चन्द्रपुर नगरपालिका – २ जुडिबेला क्षेत्रका महिला किसानहरू पछिल्लो समय सुर्ती खेतीतर्फ आकर्षित भएका छन् । स्थिर बजार, राम्रो आम्दानी र कम जोखिमका कारण यहाँका मध्यमवर्गीय महिलाहरूको सहभागिता बढ्दै गएको हो ।
स्थानीय कृषक जयन्तीदेवी चौधरीका अनुसार पहिले घरका पुरुष सदस्य खेतीपातीमा सक्रिय भए पनि अहिले अतिरिक्त आम्दानीका लागि बाहिरिन थालेपछि महिलाले खेतीको जिम्मेवारी सम्हाल्न थालेका छन् । जोखिम कम र व्यवस्थापन सहज भएकाले सुर्ती खेती उनीहरूको मुख्य रोजाइ बनेको उहाँले बताउनुभयो ।
किसान प्रमिला चौधरीका अनुसार परिवारकै सदस्य मिलेर सजिलै गर्न सकिने भएकाले सुर्ती खेती परिवारमैत्री बनेको छ । धान कटिसकेपछि खाली जमिनमा कात्तिकमा रोपिएको सुर्ती फागुनदेखि बिक्री हुने र करिब छ महिनामै प्रतिकठ्ठा २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उहाँले दश कठ्ठा जमिनमा खेती गरेर वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष बुद्ध लामाका अनुसार एक दशकअघि यस क्षेत्रमा मकै खेती बढी गरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा असिना, हावाहुरीजस्ता प्राकृतिक विपत्तिले मकै बालीमा क्षति बढेपछि किसानहरू सुर्ती खेतीतर्फ मोडिएका हुन् ।
स्थानीय किसान विमला कुवँरका अनुसार सुर्ती खेतीमा जोखिम कम हुनुका साथै बजारको समस्या पनि छैन । बाराको सिमरास्थित सूर्य टोबाको कम्पनी ले बीउ उपलब्ध गराउने र उत्पादन खेतबाटै खरिद गर्ने भएकाले किसानलाई सहज भएको छ ।
किसान चित्रबहादुर मगरका अनुसार श्रमिक अभावका बीच पारिवारिक श्रममै खेती सञ्चालन गर्न सकिनु यसको प्रमुख विशेषता हो । कम सिँचाइमै राम्रो उत्पादन हुने र भण्डारण तथा प्याकिङ घरमै गर्न सकिने भएकाले पनि यो खेती प्रभावकारी देखिएको छ ।
पालिकाका कृषि प्राविधिक प्रमुख सन्दिप देवकोटाका अनुसार हाल जुडिबेला क्षेत्रमा मात्रै करिब एक सय बिघाभन्दा बढी जमिनमा सुर्ती खेती विस्तार भइसकेको छ । जलवायु परिवर्तनका कारण परम्परागत बालीमा जोखिम बढ्दै जाँदा किसानहरू बजार सुनिश्चित भएका नगदे बालीतर्फ आकर्षित हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो ।