मिथिला नगरपालिका–७ ढल्केवरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिज मा बिहीबार राति आगलागी भएको छ।
आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट पुगेका पाँचवटा वारुणयन्त्र प्रयोग गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना को संयुक्त प्रयासमा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
उद्योगका प्रबन्धक सन्जय गुप्ताका अनुसार आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट उद्योगका स्टिम र थर्मोफुल गरी दुईवटा प्रशोधन मेसिनमा गम्भीर क्षति पुगेको छ भने कच्चा पदार्थ र तयार तेलसमेत पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।