जिल्लाका विभिन्न स्थानबाट प्रहरीले विभिन्न मुद्दामा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रहरीका अनुसार सवारी अङ्गभङ्ग कसुरमा शम्भुनाथ नगरपालिका – ३ का ३२ वर्षीय चेतन चौधरी पक्राउ परेका छन् । उनले चलाएको बा ५ च १२९४ नम्बरको स्कारपियोले स १ प ६६९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका थिए। घाइतेलाई उपचारका लागि लैजाने बहानामा बीच बाटोमै छाडेर फरार भएको आरोप उनीमाथि छ । हाल उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, ज्यान मार्ने उद्योग मुद्दामा राजविराज नगरपालिका – १५ देउरीमा भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा १३ वर्षीय एक बालकलाई नियन्त्रणमा लिइएको छ । १६ वर्षीय रोशनकुमार यादवमाथि पुरानो रिसिबीका कारण कुटपिट भएको थियो ।
यसैबीच, हनुमाननगर कङ्कालिनी नगरपालिका – १ स्थित कङ्काली मन्दिर परिसरमा धारिलो हतियार प्रयोग गरी जन्मदिन मनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। तिरहुत गाउँपालिका – ५ का २३ वर्षीय मोहम्मद ईमरानसहित धर्मवीर मलाकार (२०), करणकुमार दास (१८) र गोविन्द खड्का (१९) लाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।