एक वर्ष बिराएर फल्ने आँपमा यसपटक लागेको मञ्जर (फूल) मा ‘मधुवा’ रोगको प्रकोप बढ्दै गएपछि टिकुला झर्ने क्रम तीव्र भएको छ । यसका कारण जिल्लामा आँप उत्पादनमा उल्लेख्य गिरावट आउने संकेत देखिएको छ ।
कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकृत सुदीप खनालका अनुसार जिल्लामा करिब ९,०२५ हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमा यस वर्ष मञ्जर राम्रो लागेको थियो । त्यसैले उत्पादन बढ्ने अपेक्षा गरिएको थियो । तर मधुवा रोगका कारण मञ्जर र टिकुला झरेर हाल करिब १० प्रतिशत मात्र फल बाँकी रहेकाले उत्पादन घट्ने अवस्था सिर्जना भएको छ ।
“आँपको राजधानी मानिने सिरहामा गत वर्ष ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको थियो,” खनालले भने, “यस वर्ष उत्पादन बढ्ने अपेक्षा प्रकोपका कारण निराशामा परिणत भएको छ ।” उहाँका अनुसार आगामी वर्षदेखि मञ्जर लाग्नुअघि नै किसानलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि शाखा, लहान नगरपालिकाका प्रमुख प्रकाश साह हलुवाइले सुख्खा मौसममा आँप राम्रो सप्रिने भए पनि यस वर्ष मञ्जर लाग्ने समयमा परेको वर्षा र अत्यधिक हावाहुरीका कारण समस्या बढेको बताए । किसानहरूले ‘इमिडाक्लोप्रिड’ जस्ता औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ ।
आँप उत्पादनमा संलग्न किसानहरू टिकुला झर्ने समस्याले निराश भएका छन्। लहान नगरपालिका – १८ का किसान हृदय महतोले आवश्यक ज्ञान, सीप तथा रोग नियन्त्रणसम्बन्धी कार्यक्रम पर्याप्त नल्याइएको गुनासो गरे। उनले धान खेतीको विकल्पका रूपमा आँप खेतीतर्फ आकर्षित किसानहरूलाई यस्ता प्रकोपबाट जोगाउन प्रभावकारी सचेतना कार्यक्रम आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले आँपमा लाग्ने रोग–प्रकोप नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रलाई सक्रिय बनाउन तथा जिल्लाका १७ वटै पालिकाका कृषि शाखालाई जिम्मेवार बनाउने गरी समन्वय गरिने बताए ।