मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले बढ्दो सवारी दुर्घटना न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै मातहतका प्रहरी कर्मचारीलाई प्रभावकारी कार्यसम्पादनका लागि स्पष्ट निर्देशन दिएका छन् ।
शुक्रबार बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको अनुगमन तथा निरीक्षणका क्रममा डीआईजी थपलियाले दुर्घटना नियन्त्रणका लागि परम्परागत शैलीभन्दा माथि उठेर वैज्ञानिक, तथ्यमा आधारित र व्यवहारिक उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
उनले सवारी दुर्घटनाका प्रमुख कारणहरू—अत्यधिक गति, मादक पदार्थ सेवन, सवारी नियम उल्लंघन, सडकको कमजोर अवस्था तथा चालकको लापरबाही—पहिचान गरी त्यसअनुसार लक्षित रणनीति तयार गर्नुपर्ने बताए । “दुर्घटना न्यूनीकरणका लागि तथ्यमा आधारित योजना बनाइ प्रभावकारी कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो,” उनले भने ।
डीआईजी थपलियाले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सीसीटीभी निगरानी विस्तार, डिजिटल ट्राफिक व्यवस्थापन प्रणाली, स्मार्ट सिग्नल र स्वचालित जरिवाना प्रणाली लागू गर्नुपर्ने धारणा राखे । उनले यस्ता उपायले ट्राफिक व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
उनले सेवाग्राहीमैत्री प्रहरी सेवा अपरिहार्य भएको उल्लेख गर्दै छिटो, सहज र पारदर्शी सेवा प्रवाहमार्फत प्रहरीप्रतिको जनविश्वास थप मजबुत बनाउन निर्देशन दिए । “प्रहरीको व्यवहारले नै संस्थाको छवि निर्माण गर्छ, त्यसैले सेवामा पारदर्शिता र जिम्मेवारी हुनैपर्छ,” उनले स्पष्ट पारे ।
डीआईजी थपलियाले सडक सुरक्षामा केवल कारबाही मात्र पर्याप्त नहुने बताउँदै जनचेतनामूलक कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । विद्यालय, कलेज, यातायात व्यवसायी, चालक तथा सहचालक लक्षित सचेतनामूलक अभियान सञ्चालन गरी दीर्घकालीन सुधार ल्याउन सकिने उनले बताए ।
नागरिक, स्थानीय तह, यातायात व्यवसायी तथा सरोकारवाला निकायसँग सहकार्य गरेर सडक सुरक्षा अभियानलाई व्यापक बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे। “सामूहिक प्रयासबिना सडक दुर्घटना न्यूनीकरण सम्भव छैन,” उनले भने ।
निरीक्षण कार्यक्रममा बारा र पर्सा जिल्लाका ट्राफिक प्रमुख, पोस्ट इन्चार्ज तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बस्नेत र प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिलबहादुर सिंहले प्रदेशको वर्तमान ट्राफिक अवस्था, प्रमुख चुनौतीहरू तथा आगामी कार्ययोजनाबारे विस्तृत प्रस्तुति दिएका थिए ।
प्रस्तुतिमा मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाको दर बढ्दो रहेको, विशेषगरी पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा दुर्घटना बढी हुने गरेको र त्यसलाई न्यूनीकरण गर्न थप स्रोत–साधन तथा जनशक्ति आवश्यक रहेको औंल्याइएको थियो ।
कार्यक्रमको अन्त्यमा डीआईजी थपलियाले “सडक सुरक्षामा जनस्तरमै चेतना अभिवृद्धि गर्न सके मात्र दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ” भन्दै सबै पक्षलाई समन्वयात्मक रूपमा अघि बढ्न आह्वान गरे ।