सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले चैत महिनामा ११८ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएको जनाएको छ । तीमध्ये सामाजिक अपराध, महिला तथा बालबालिकासम्बन्धी हिंसा, चोरी, ठगी, बैंकिङ कसुरदेखि सवारी दुर्घटनासम्मका घटना समावेश छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दर्ता भएका मुद्दामध्ये सामाजिक अपराधसम्बन्धी २०, चोरी ८, संगठित अपराध १, महिला तथा बालबालिकासम्बन्धी १८, सवारी ज्यान ५, आत्महत्या सम्बन्धी १३, ज्यानसम्बन्धी ५ तथा अन्य ५३ वटा मुद्दा रहेका छन् ।
त्यस्तै जघन्य तथा गम्भीर अपराधअन्तर्गत बैंकिङ कसुरका १४ र ठगीका ४ गरी १८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
यस अवधिमा चालु मुद्दाका ५५ जना प्रतिवादीलाई पक्राउ गरिएको छ भने सार्वजनिक चासोका ३५ वटा मुद्दा फस्र्योट गरिएको प्रहरीले जनाएको छ । हाल ८ वटा मुद्दा अनुसन्धान प्रक्रियामा रहेको बताइएको छ ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा विभिन्न मुद्दामा फरार रहेका ३२ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट ३ वर्ष ९ महिना २० दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने १० लाख ५३ हजार ८०१ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत चैत महिनामा १०५ किलो ५२५ ग्राम गाँजा र ८६ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनातर्फ २० वटा दुर्घटना हुँदा १ जनाको मृत्यु र ३१ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरी ३ लाख ५३ हजार ७०१ रुपैयाँ राजस्व संकलन गरिएको छ । दुर्घटनाका प्रमुख कारण तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा ट्राफिक अनुशासनको कमी रहेको विश्लेषण गरिएको छ ।
विपद् व्यवस्थापनअन्तर्गत १८ वटा आगलागीका घटनामा करिब १ करोड १० लाख ८५ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। साथै करेन्ट लागेर १ जनाको मृत्यु र २ जना घाइते भएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ११० उजुरी दर्ता भएका छन्। तीमध्ये २६ देखि ४० वर्ष उमेर समूहका पीडितको संख्या बढी रहेको देखिएको छ, जसले घरेलु तथा सामाजिक हिंसाका घटना अझै चिन्ताजनक रहेको संकेत गर्छ।
यस अवधिमा ४३ जना हराएकामध्ये १५ जना फेला परेका छन्। ठाडो उजुरीतर्फ ४१७ उजुरी दर्ता भएकोमा ४१३ फस्र्योट भइसकेका छन् भने ४ वटा अनुसन्धानमा रहेका छन् ।
भन्सार छली नियन्त्रणका क्रममा ५ लाख ९ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ ३० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
साथै लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण, महिला हिंसा, बालविवाह, साइबर अपराध तथा ट्राफिक सचेतनासम्बन्धी ११९ वटा समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।