वीरगंज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३/०८४ का लागि सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।
महानगरपालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सुरु गर्न र वैशाख १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार सूचना जारी गर्दै वैशाख ७ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सोही अवधिमा विद्यालयहरूले अभिलेखिकरण, वार्षिक कार्यतालिका निर्माण, वार्षिक कार्ययोजना तयार, शिक्षक क्षमता विकास कार्यक्रम सञ्चालन तथा विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
महानगरका अनुसार शैक्षिक गुणस्तर सुधार र समयमै पठनपाठन सुनिश्चित गर्न यस वर्षदेखि कार्यतालिका कडाइका साथ लागू गरिनेछ। भर्ना अभियानलाई प्रभावकारी बनाउन विद्यालयहरूलाई घरदैलो अभियान, अभिभावकसँग समन्वय तथा विद्यार्थी नामांकनमा विशेष ध्यान दिन पनि निर्देशन दिइएको छ ।
महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालयहरूलाई समयमै शैक्षिक गतिविधि सुरु गर्न निर्देशन दिइएको हो । उहाँले भर्ना अभियानसँगै विद्यालय व्यवस्थापन सुधार, शिक्षक तालिम तथा शैक्षिक योजना निर्माणलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
महानगरपालिकाले वैशाख १६ गतेदेखि सबै सामुदायिक तथा निजी विद्यालयमा नियमित कक्षा सञ्चालन अनिवार्य गरेको छ। साथै, कक्षा सञ्चालनमा ढिलाइ नगर्न र विद्यार्थी उपस्थितिलाई शतप्रतिशत सुनिश्चित गर्न विद्यालय प्रशासनलाई कडा निर्देशन दिइएको छ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले महानगरपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार समयमै भर्ना र पठनपाठन सुरु हुँदा शैक्षिक क्यालेन्डर व्यवस्थित हुने, विद्यार्थीको सिकाइमा निरन्तरता आउने तथा पाठ्यक्रम पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ ।
तर केही विद्यालय सञ्चालकहरूले छोटो समयमै भर्ना अभियान र योजना निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा चुनौती आउन सक्ने बताएका छन् ।
महानगरपालिकाले भर्ना अभियानलाई सफल बनाउन सबै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
