काठमाडौँ | वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गर्न सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले एनओसी प्रणालीलाई फेसलेस र पूर्ण रूपमा डिजिटल बनाउँदै सेवा अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था गरेको हो ।
एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयसँग एपिआईमार्फत अन्तरआवद्धता (integration) गरिएको छ । यसका लागि त्रिविसँग यही वैशाख ४ गते सम्झौता गरिएको हो भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ ।
नयाँ प्रणाली लागू भएपछि विद्यार्थीहरूले घरमै बसेर एनओसीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफैंले डाउनलोड तथा प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ। प्रमाणपत्रमा क्यूआर कोडसमेत रहने भएकाले यसको प्रमाणीकरण सजिलै स्क्यानमार्फत गर्न सकिनेछ ।
एनओसी शाखाका अनुसार नागरिकताको विवरण गृह मन्त्रालय अन्तर्गतको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (CIMS)’ सँग अन्तरआवद्धता गरिएको छ । त्यस्तै, एसईई तथा उच्च माध्यमिक तहको विवरण ‘NEB’ प्रणालीसँग जोडिएकाले धेरैजसो अवस्थामा आवेदकलाई कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन ।
तर स्नातकोत्तर वा सोभन्दा माथि अध्ययनका लागि आवेदन दिने विद्यार्थीले विश्वविद्यालयको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने भएकाले त्यस्ता अवस्थामा विवरण रुजु गर्न केही आवेदकले कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहनेछ ।
त्यसैगरी, महालेखा नियन्त्रक कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम (RIMAS)’ सँग अन्तरआवद्धता भएपछि एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको छ ।
एनओसी शाखाले अबको प्रणालीले समय, लागत र झन्झट घटाउने र सेवाग्राहीमैत्री, पारदर्शी तथा छिटो सेवा प्रवाह सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।