तराई–मधेश क्षेत्रमा गर्मी बढ्दै जाँदा मधेशका जिल्लामा उखुको जुसको व्यवसाय फस्टाउन थालेको छ।
तापक्रम वृद्धि भएसँगै बजारमा उखुको जुस पिउने उपभोक्ताको भिड उल्लेख्य रूपमा बढेको छ। बढ्दो मागसँगै उखु उत्पादक किसान मात्र होइन, साना व्यवसायीहरू पनि उत्साहित भएका छन् ।
वीरगंजका बजारमा हाते मेसिनमार्फत जुस बनाउँदै जीविकोपार्जन गर्ने व्यवसायीहरूको आम्दानीमा समेत सुधार देखिएको छ ।
वीरगंजकाे घंन्टाघर क्षेत्रमा विगत ५–६ वर्षदेखि उखु पेलेर जुस बेच्दै आउनुभएका रमेश महतोका अनुसार पछिल्ला दिनमा बिहानैदेखि उपभोक्ताको चाप बढ्न थालेको छ । उहाँ भन्नुहुन्छ, “अहिले त बिहान सबेरैदेखि नै जुस पिउन आउनेको भिड लाग्न थालेको छ।” उहाँले यस व्यवसायबाट प्रत्येक सिजनमा खर्च कटाएर करिब ७० हजारदेखि ९० हजार रुपैयाँसम्म बचत हुने गरेको बताउनुभयो ।
त्यस्तै अर्का व्यवसायी सोनफी साह पनि यो व्यवसायबाट सन्तुष्ट देखिनुहुन्छ । उहाँका अनुसार, “यो व्यवसायले घरपरिवार धान्न मात्र होइन, तीन जना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन पनि सहयोग पुगेको छ ।”
वीरगंज महानगरपालिकाभित्र मात्रै हाते मेसिनबाट उखुको जुस बेच्ने व्यवसायीहरूको सङ्ख्या १० भन्दा बढी रहेको अनुमान गरिएको छ । हाल एक गिलास उखुको जुसको मूल्य ३० रुपैयाँ रहेको छ भने व्यवसायीहरूले दैनिक करिब १,५०० देखि २,००० रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
उखुको जुसलाई स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ । पेटको गर्मी घटाउने, जन्डिस, कलेजोसम्बन्धी समस्या तथा पिसाब पोल्ने समस्यामा राहत दिने जनविश्वासका कारण यसको माग बर्सेनि बढ्दै गएको छ ।
वीरगंजका स्थानीय व्यवसायी निरञ्जन साहका अनुसार गर्मीयाममा उखुको जुस नियमित सेवन गर्ने गरिन्छ । उहाँ भन्नुहुन्छ, “गर्मी बढेसँगै जुस पिउनु शरीरका लागि फाइदाजनक हुन्छ ।”
यस वर्ष तराई क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढेको छ । चैतको दोस्रो सातामा औसत २४ डिग्री सेल्सियस रहेको तापक्रम वैशाखको पहिलो सातासम्म करिब २७.४ डिग्री सेल्सियस पुगेको छ । बारा पर्सा लगाएत अासपासका जिल्लामा गर्मीको प्रभाव स्पष्ट रूपमा देखिएको छ।
यद्यपि, सडक छेउमा खुला स्थानमा व्यापार गर्नुपर्ने भएकाले व्यवसायीहरूले धूलो र चर्को घामको समस्या भोग्नुपरेको छ । घरभाडा नपर्नुका कारण आम्दानी सन्तोषजनक भए पनि काम गर्ने वातावरण भने सहज नभएको उनीहरूको भनाइ छ ।