सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्की दिएको भनिएको फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन प्रक्रिया सुरु गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी कमल थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले उक्त संवादबारे सत्यतथ्य पत्ता लगाउन समितिलाई जिम्मेवारी दिइएको जानकारी दिए ।
उनले भने, “समितिको विस्तृत प्रतिवेदनअनुसार अघि बढ्छौँ। दोषी देखिए कारबाही हुन्छ ।”
आइतबार बिहानदेखि सामाजिक सञ्जालमा फैलिएको अडियो संवादमा एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’बीचको कुराकानी रहेको बताइएको छ । उक्त संवादमा एसपी केसीले राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्दै धम्की दिएको सुनिन्छ ।
संवादमा “ठिक ठाउँमा ल्या, होइन भने… हान्दिन्छु” भन्दै गालीगलौज गरेको अंश सार्वजनिक भएपछि एसपी केसीको चौतर्फी आलोचना भइरहेको छ ।
यता, मुस्तकिम आलमले सामाजिक सञ्जालमार्फत अन्यायविरुद्ध आवाज उठाएको कारण आफूलाई लक्षित गरी धम्की दिइएको दाबी गरेका छन् । उनका अनुसार एसपी केसीले फोनमार्फत पनि धम्क्याएको र आफूलाई फसाउने प्रयास भएको आरोप लगाएका छन् ।
आलमले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार समितिले घटनाको सत्यता, अडियोको प्रमाणिकता तथा सम्बन्धित पक्षको संलग्नताबारे विस्तृत अनुसन्धान गर्नेछ। प्रतिवेदन आएपछि थप निर्णय लिइने बताइएको छ ।