भारतबाट सामान आयातमा हाल लागू गरिएको भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनमा असहजता बढ्दै गएको भन्दै मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार जारी गरेको ध्यानाकर्षण वक्तव्यमा उहाँले यस्तो व्यवस्थाले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको ‘बेटी–रोटी’ सम्बन्धमा समेत असर परेको उल्लेख गर्नुभएको छ ।
अर्थमन्त्री यादवका अनुसार सीमा क्षेत्रमा लागू गरिएका नीतिका कारण सामान्य आवतजावत तथा दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समस्या देखिएको छ । “यसले स्थानीय नागरिकको जीवनयापन कठिन बन्नुका साथै नेपाल–भारतबीचको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा असहजता सिर्जना गरेको छ,” वक्तव्यमा भनिएको छ ।
उहाँले वस्तुस्थितिको यथार्थ अध्ययन गरी नागरिकमैत्री, व्यवहारिक र सन्तुलित नीति अवलम्बन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ । सीमा क्षेत्रका जनताको संवेदनशीलतालाई ध्यानमा राखी नीतिगत निर्णय हुनुपर्ने उहाँको जोड छ ।
यसैबीच, मधेश प्रदेशका विभिन्न स्थानमा सडक तथा फुटपाथ व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायी प्रभावित भइरहेको विषयमा पनि अर्थमन्त्री यादवले चिन्ता व्यक्त गर्नुभएको छ ।
अव्यवस्थित बजार तथा फुटपाथ व्यवस्थापनका नाममा वैकल्पिक व्यवस्था बिना चालिएका कदमले साना व्यवसायीको रोजगारीमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ । “स्पष्ट विकल्प बिना गरिने यस्ता कार्यले साना उद्यमीको आर्थिक अवस्था झन् जटिल बनाउने जोखिम रहेको छ,” उहाँले उल्लेख गर्नुभयो ।
सडक व्यवस्थापन आवश्यक भए पनि प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि ठोस योजना अनिवार्य हुनुपर्ने उहाँले जोड दिनुभयो ।
अन्त्यमा, उहाँले नेपाल सरकार, गृह मन्त्रालय नेपाल तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दुवै विषयमा आवश्यक समन्वय, संवाद र दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभएको छ ।