सशस्त्र प्रहरी बल नेपाल ले बारा र पर्साका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको कपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा भित्र्याइएको करिब १४ लाख १० हजार ५ सय रुपैयाँ बराबरको तस्करीका सामान सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला का अनुसार बाराको विश्रामपुर गाउँपालिका–५ कटुवा विर्ताटोलास्थित एक गोठमा लुकाएर राखिएको अवस्थामा १७ पोका कपडा बरामद गरिएको हो । वीरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी को नेतृत्वमा खटिएको भन्सार कर्मचारीसहितको संयुक्त टोलीले उक्त कपडा बरामद गरेको हो । बरामद गरिएको कपडाको बजार मूल्य ११ लाख ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी पर्साको जिराभवानी गाउँपालिका–१ बलुवास्थित नेपाल–भारत सीमा नजिकका घरहरूमा अवैध रूपमा भण्डारण गरेर राखिएको किराना सामान पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद गरिएको उक्त किराना सामानको मूल्य दुई लाख ३५ हजार ५ सय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक निरौलाले जानकारी दिनुभयो ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।