बजेट अभाव र अन्य प्राविधिक कारणले गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडा गणना यस वर्ष बाघ गणनाको कार्यक्रम परेकाले स्थगित गरिएको हो ।
गैँडा गणना आनुवंशिक (जेनेटिक) विधिबाट गरिन्छ । वर्षायाम सुरु भएसँगै कार्यक्षेत्रमा प्रत्यक्ष रूपमा खटेर गणना गर्न कठिन हुने भएकाले गणना अर्को वर्ष मात्र गर्ने तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
विभागको वन्यजन्तु सर्वेक्षणसम्बन्धी प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ तयार गर्ने निर्णय गरेको छ । समितिका संयोजक तथा विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य ले प्रोटोकल निर्माणका लागि छलफल सुरु भइसकेको जानकारी दिनुभयो ।
आनुवंशिक विधिअनुसार गैँडाको गोबर (मल) सङ्कलन गरी प्रयोगशालामा डिएनए परीक्षणमार्फत सङ्ख्या र लिङ्ग पहिचान गरिन्छ । एउटै गैँडाको जेनेटिक संरचना अन्य गैँडासँग फरक हुने भएकाले पहिचान सहज हुने वैज्ञानिकहरूले बताएका छन् ।
गैँडाहरू प्रायः निश्चित स्थानमा दिसा गर्ने भएकाले ती स्थानहरू पहिचान गरी सिसी क्यामरा जडान गर्दै गोबर सङ्कलन गरिन्छ । यस प्रक्रियाको विस्तृत विधि प्रोटोकलमा समावेश गरिने विभागले जनाएको छ ।
मुख्य रूपमा यो विधि चितवन राष्ट्रिय निकुञ्जमा प्रयोग गरिनेछ । ठूलो क्षेत्रफल भएकाले कति प्रतिशत भूभागबाट नमुना सङ्कलन गर्ने भन्ने विषय पनि प्रोटोकलमै निर्धारण गरिनेछ ।
नेपालका चार निकुञ्ज—चितवन, बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडा पाइन्छन् । तर बर्दिया, शुक्लाफाँटा र पर्सामा प्रत्यक्ष गणना सम्भव हुने भएकाले आनुवंशिक विधि मुख्यतः चितवनमा मात्र प्रयोग गरिनेछ । यसअघि यो विधि हिउँ चितुवाको गणनामा प्रयोग गरिएको थियो ।
विभागका अनुसार नयाँ विधि तुलनात्मक रूपमा कम खर्चिलो, सुरक्षित र वैज्ञानिक आधारमा विश्वसनीय मानिने भएकाले यसतर्फ ध्यान केन्द्रित गरिएको हो । यसअघि प्रयोग हुँदै आएको प्रत्यक्ष गणना विधि खर्चिलो र जोखिमपूर्ण रहेको थियो ।
सन् २०२१ को गणनामा करिब ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या करिब १०० मा झरेको भए पनि संरक्षण प्रयासपछि संख्या क्रमशः बढ्दै गएको हो ।