नेपाली कांग्रेस को शेरबहादुर देउवा पक्षले पार्टीमा पूर्ण महासमितिको बैठक तत्काल आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बुधबार काठमाडौंमा आयोजित देउवा पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत् एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र तथा आगामी राजनीतिक दिशाबारे गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेस नेता डा. प्रकाशशरण महत का अनुसार भेलाले पार्टीको १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य ढंगले सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने साझा संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
भेलाले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरिएको विषयमा उठेका प्रश्नबारे पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । उक्त निर्णयको कारण, प्रक्रिया र औचित्य पारदर्शी रूपमा स्पष्ट गर्नुपर्ने माग गरिएको नेता महतले बताए ।
त्यस्तै, प्रतिशोधको भावनाबाट प्रेरित देखिने निर्णयहरूले पार्टीभित्रको बृहत् एकता, आपसी विश्वास र सहकार्यमा नकारात्मक असर पार्न सक्ने भन्दै त्यस्ता प्रवृत्तिबाट बच्न नेतृत्वलाई आग्रह गरिएको छ । भेलाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई तदर्थवादमा अल्झाउने र कार्यसमिति विघटन गर्ने प्रवृत्ति अन्त्य गरी नियमित महाधिवेशनमार्फत वैधानिक नेतृत्व चयन गर्नुपर्ने माग पनि गरेको छ ।
यसैगरी, पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको मुख्य कारण निर्वाचनको मुखमा गरिएको विशेष महाधिवेशन र त्यसबाट सिर्जित विभाजित मनस्थिति रहेको निष्कर्ष समेत भेलाले निकालेको नेता महतले जानकारी दिए ।
पार्टी सदस्यता अध्यावधिक गर्ने नाममा पहिल्यै टुंगो लागिसकेका सदस्यतालाई पुनः विवादित बनाउनु पार्टीको हितमा नहुने निष्कर्ष पनि भेलाले निकालेको छ । भेलाले समूहगत परामर्शबिना प्रतिनिधित्वको नाममा केन्द्रीय समितिमा गरिएको मनोनयनले बृहत् एकताको वातावरण बिगार्ने काम गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ ।