पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित चाँदी पुल नजिक बिहीबार बिहान एक युवक रक्ताम्मे अवस्थामा मृत फेला परेका छन् ।
बिहानै सडक किनारमा शव भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् भने घटनाले क्षेत्रमा चासो बढाएको छ ।मृतक माधव नारायण नगरपालिका–१ दिपही निवासी २४ वर्षीय रंजय कुमार यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार बिहान करिब साढे ६ बजे स्थानीयले सडक छेउमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखिएको जनाएको छ । प्रहरीका अनुसार घटनालाई शंकास्पद रूपमा हेरिएको छ । मृतकको टाउकोमा गहिरो चोट देखिएकाले सवारी दुर्घटना, कुटपिट वा अन्य आपराधिक गतिविधिमध्ये कुन कारणले घटना भएको हो भन्ने विषयमा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आसपासका व्यक्तिसँग सोधपुछ गर्नुका साथै घटनास्थल वरपरका गतिविधिबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।