गौतमनगरस्थित सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र तथा सम्मानपत्रसहित सम्मान गरिएको छ ।
कर्ण स्मृति केन्द्र, ठोरी–३ का संस्थापक सदस्य अमित श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद टेकबहादुर शाक्यले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेका थिए । कार्यक्रममा ठोरी गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउँदै ३.८० जिपिए हासिल गर्ने छात्रा अंशु खनाललाई सांसद शाक्यले घोषणा गरेअनुसार रु. २१ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरे ।
त्यसैगरी ३.७६ जिपिए प्राप्त गर्दै गाउँपालिकामा दोस्रो स्थान हासिल गर्ने अञ्जन अर्याललाई कर्ण स्मृति केन्द्रले रु. ५ हजार नगदसहित सम्मान गरेको थियो। वैदेशिक रोजगारीमा रहेका विद्यालयका पूर्वविद्यार्थी गृहेन्द्र सिलवालको तर्फबाट पनि अंशु खनाललाई रु. २५ हजार ५ सय नगद प्रदान गरिएको थियो। उक्त रकम वडाध्यक्ष अमृतकृष्ण सापकोटा र गृहेन्द्रका पिता श्यामबहादुर सिलवालले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष अमृतकृष्ण सापकोटा, शिक्षा संयोजक भूपालकुमार जोशी, जीराभवानी गाउँपालिकाका शिक्षा प्रमुख शिवराज फुयाँल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद शाक्य, वडाध्यक्ष सापकोटा, समाजसेवी सन्तोष श्रेष्ठ, धीरसिंह घिमिरेलगायतले विद्यार्थीहरूको शैक्षिक सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कर्ण स्मृति केन्द्रका संयोजक लीलामणि श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी ठोरी गाउँपालिकामा एसइईमा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउने विद्यालयका रूपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ओडारलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रमेश नेपालले गरेका थिए ।