राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै प्रतिनिधिसभा बैठकमा उपस्थित भई उठेका प्रश्नहरूको जवाफ दिने बताउनुभएको छ ।
बिहीबार संसद भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्रीको संसदमा उपस्थितिबारे छिट्टै औपचारिक जानकारी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री सदनमा आउँदा आफूलाई कुनै प्रकारको दबाब नपरेको स्पष्ट पार्नुभयो ।
सञ्चारकर्मीले प्रधानमन्त्रीको उपस्थितिले तपाईंमाथि दबाब बढेको हो भन्ने प्रश्न गर्दा लामिछानेले आफूलाई व्यक्तिगत रूपमा कुनै दबाब नभएको तर जनताको अपेक्षा अनुसार सरकारले प्रभावकारी काम गरोस् भन्ने दबाब भने रहने बताउनुभयो ।
सभापति लामिछानेले पार्टी अहिले महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै महाधिवेशनमार्फत पार्टीलाई व्यवस्थित र सशक्त ढंगले अघि बढाइने धारणा पनि राख्नुभयो ।