जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीहरूको खोजी अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १६ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी विज्ञप्तिअनुसार पक्राउ परेकाहरू चेक अनादर, कुटपिट, लुटपाट तथा बालबालिका बेचबिखनजस्ता विभिन्न आपराधिक मुद्दामा संलग्न रहेका छन् । पक्राउ परेकामध्ये एकजना प्रतिवादी बालबालिका बेचबिखन मुद्दासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अधिकांश प्रतिवादी चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भइसकेपछि लामो समयदेखि फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी वसन्त गौतमका अनुसार अदालतले केही प्रतिवादीलाई कैद सजाय तथा अधिकांशलाई जरिवाना तोकेको थियो । तर फैसला कार्यान्वयनका क्रममा उनीहरू फरार भएपछि विशेष खोजी अभियान सञ्चालन गरिएको उनले बताए ।
पक्राउ परेका सबै प्रतिवादीलाई नियन्त्रणमा लिएर रौतहट जिल्ला अदालत गौरमा बुझाइएको प्रहरीले जनाएको छ । साथै अदालतको फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको पनि जानकारी दिइएको छ ।
प्रहरीका अनुसार अभियानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट ११ हजार ६ सय रुपैयाँ जरिवाना असुलउपर गरिएको छ ।
रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ ।