काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले कुनै पनि परिस्थितिमा विरोधीहरूका अगाडि डराएर टाउको लुकाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको समर्थनलाई “सुनामी” को संज्ञा दिँदै त्यसका कारणहरूबारे विभिन्न कोणबाट छलफल भइरहेको बताए ।
उनले भने, “विरोधीहरू आक्रामक छन्, तर हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन। यो एउटा सुनामी हो। यसको पछाडिका कारणहरूको खोजी भइरहेको छ।”
नेपालले निर्वाचन प्रक्रियासम्बन्धी विभिन्न पक्षहरूबारे पनि प्रश्न उठाउँदै सेनाको भूमिका, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनलगायत विषयहरू समयक्रममा स्पष्ट हुँदै जाने दाबी गरे ।
त्यसैगरी उनले २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले पहल गरेको उल्लेख गरे । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि विभिन्न संवैधानिक पदहरूमा महिलाको अनिवार्य सहभागिताका लागि व्यवस्था गरिएको उनको भनाइ थियो ।