राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् । उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा हुन लागेको लामिछानेको भ्रमण जेठ २२ गतेसम्म चल्नेछ । रास्वपा र भाजपा दुवै दलले आइतबार विज्ञप्ति जारी गर्दै भ्रमणबारे औपचारिक जानकारी दिएका थिए । विज्ञप्तिअनुसार दुई पार्टीबीच पार्टी–स्तरीय सम्बन्ध र संवादको सुरुआत गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
यसका साथै संगठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा पनि भ्रमणलाई हेरिएको छ । भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले भाजपा अध्यक्ष नीतिन नवीनसहित शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने जनाइएको छ ।
भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने तालिका पनि रहेको छ । व्यक्तिगत भ्रमणका क्रममा लामिछाने अयोध्या समेत जाने कार्यक्रम तय भएको छ ।
लामिछानेको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र अविनाश आचार्य (प्रदीप) सहभागी रहेका छन् ।