भारतको पाँच दिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले भव्य स्वागत गरेको छ ।
भाजपा अध्यक्ष नीतिन नवीनसहित पार्टीका उच्च पदाधिकारीहरूले नयाँ दिल्लीस्थित दिनदयाल मार्गमा रहेको भाजपा मुख्यालयमा सभापति लामिछानेलाई स्वागत गरेका हुन् ।
लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भाजपा मुख्यालय पुग्दा परम्परागत गीत–संगीत, नृत्य तथा पुष्पवृष्टिसहित विशेष स्वागत गरिएको थियो ।
हाल भाजपा मुख्यालयमा रास्वपा सभापति लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्ष नीतिन नवीन नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भइरहेको जनाइएको छ ।
भाजपाको औपचारिक निमन्त्रणामा सभापति लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो नयाँ दिल्ली पुगेका हुन् ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा लामिछानेका स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका छन् ।
यसैबीच, भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’मा प्रकाशित सभापति लामिछानेको लेखलाई लिएर नेपाल र भारत दुवै देशमा चर्चा भइरहेको छ ।