पर्सा जिल्ला अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अदालतले लिखत सम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुटा विवरणका आधारमा नागरिकता लिएको आरोप सम्बन्धी मुद्दामा १५ हजार रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
पर्सा जिल्ला अदालतका एक नं. न्यायाधीश गायत्रीप्रसाद रेग्मी को एकल इजलासले उक्त आदेश जारी गरेको अदालत स्रोतले जनाएको छ ।
यसअघि लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले गत १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको भोलिपल्ट उनी अदालतमा उपस्थित भए पनि औपचारिक रूपमा हाजिर नभई फरार भएका थिए ।
पछि लामो समयको खोजीपछि प्रहरीले विशेष टोलीमार्फत आज उनलाई ठोरी क्षेत्रको एक जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई अदालतमा पेस गरिएको थियो ।
थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।