चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगंज नाका हुँदै २० अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खाद्यान्न आयात १५ प्रतिशत अर्थात् तीन अर्ब ८७ करोड रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यही अवधिमा २४ अर्ब ६६ करोड रुपैयाँ मूल्यका विभिन्न १६ प्रकारका खाद्यान्न आयात भएका थिए ।
चालु आर्थिक वर्षमा आयात भएका खाद्यान्नमध्ये धानको हिस्सा सबैभन्दा बढी रहेको छ । १० महिनामा १० अर्ब ९४ करोड रुपैयाँको धान, पाँच अर्ब ३१ करोड रुपैयाँको मकै तथा दुई अर्ब ८५ करोड रुपैयाँको चामल आयात भएको छ ।
यसैगरी, ५९ करोड रुपैयाँ बराबरको माल्ट तथा ३३ करोड रुपैयाँ मूल्यका फापर, कोदो र अन्य खाद्यान्न पनि वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।