मधेश प्रदेशमा बाल कुपोषणको अवस्था चिन्ताजनक देखिएको छ ।
धनुषाको मिथिला नगरपालिकामा मात्रै २७५ जना बालबालिका शीघ्र कुपोषित अवस्थामा भेटिएपछि प्रदेशको समग्र पोषण अवस्थाबारे प्रश्न उठेको छ । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार प्रदेशका १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहबाट गरिएको पोषण परीक्षणमा २ लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्यांकन गरिएको थियो ।
त्यसमध्ये २ लाख ३३ हजार १८२ बालबालिका सामान्य अवस्थामा रहेको पाइएको छ भने ३५ हजार ८८३ जना कुपोषित र ८ हजार ७७१ जना शीघ्र कुपोषित अवस्थामा रहेका छन् । यसरी मधेश प्रदेशमा कुपोषित बालबालिकाको कुल संख्या ४४ हजार ६५४ पुगेको छ, जुन १५.७६ प्रतिशत हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार १५ प्रतिशतभन्दा माथिको कुपोषण दरलाई “सङ्कटपूर्ण अवस्था” मानिन्छ । सोही आधारमा मधेश प्रदेश अहिले कुपोषणको गम्भीर जोखिममा रहेको देखिन्छ ।
मिथिला नगरपालिकामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका २ हजार ८४४ बालबालिकाको परीक्षण गरिएको थियो । जसमध्ये २ हजार ३३७ बालबालिका सामान्य अवस्थामा, २३२ जना कुपोषित र २७५ जना शीघ्र कुपोषित अवस्थामा भेटिएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीका अनुसार परीक्षणपछि जोखिममा रहेका बालबालिकालाई पोषण पुनःस्थापना केन्द्रमा पठाउने तथा घरमै निगरानीमा राख्ने काम भइरहेको जनाएकाे छ ।
प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले मधेशमा कुपोषणको प्रमुख कारण खाने व्यवहार, पोषणसम्बन्धी ज्ञानको कमी र प्रशोधित खाद्य पदार्थको बढ्दो प्रयोग रहेको बताएका छन् । उनका अनुसार स्थानीय तथा परम्परागत पोषणयुक्त खाद्य पदार्थको प्रयोग घट्दै जानु पनि गम्भीर समस्या बनेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कुपोषणलाई बहुआयामिक समस्या भन्दै शिक्षा, कृषि, खानेपानी, सरसफाइ र सामाजिक व्यवहार सुधार नगरेसम्म समस्या समाधान नहुने दाबी गरेका छन् । उनले प्रदेश सरकारले पोषण सुधारलाई प्राथमिक प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा पोषण शिक्षा विस्तार, स्थानीय खाद्य प्रवर्द्धन र नियमित बाल स्वास्थ्य अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।