महोत्तरी प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
गौशाला नगरपालिका–१२, पडरियामा इनार (कुवा) खन्ने क्रममा ३६ फिट गहिराइमा काठको ठुटो फेला परेको थियो । सो ठुटो काट्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका १९ वर्षीय बसन्तकुमार महतो पेट्रोल चेनस प्रयोग गर्दा निस्किएको धुवाँका कारण बेहोस भएका थिए ।
बेहोस भएका उनलाई तत्काल ईश्वरपुर नगर अस्पताल, बयलवास लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीयका अनुसार गौशाला नगरपालिकाको बजेटमा वडा स्तरीय ठेक्कामार्फत कृषि सिँचाइका लागि इनार खन्ने क्रममा उक्त काठको ठुटो फेला परेको थियो । सो ठुटो काट्न अस्वीकार गर्दा ठेकेदारसहितका व्यक्तिले करकाप गरी उनलाई गहिरो इनारभित्र पस्न बाध्य बनाएको र त्यसकै कारण मृत्यु भएको आरोप लगाइएको छ ।
मृतकका बुवा चन्द्रप्रकाश महतोले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो ।
अनुसन्धानका क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ का ३५ वर्षीय सोनुलाल चौधरी र ३१ वर्षीय सतेन्द्रप्रसाद महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।