एक महिनादेखि सम्पर्कविहीन रहेका पर्साकाे बहुदरमाईनगरपालिका वडा नं. ८ रामनगरीका सशस्त्र प्रहरी बलका एक असई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा एकैसाथ झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रामनगरीका शक्ति राम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा असई पदमा कार्यरत रहेका थिए । उनीहरूको शव पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनभित्र मौवा रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो । वन समितिका प्रतिनिधिहरू सल्लाको खोटो संकलनका लागि अनुगमनमा जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुवै जना छुट्टाछुट्टै पासोमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । शव अत्यधिक सडिसकेको, टाउको झुण्डिएको तथा शरीरका केही भाग चुँडिएर जमिनमा खसेको अवस्थामा फेला परेकाले घटना केही दिनअघिको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरीले घटनास्थलबाट बरामद कपडा तथा अन्य कागजातका आधारमा परिवारका सदस्य र आफन्तसँग रुजु गर्दा मृतकहरूको पहिचान खुलेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार शक्ति राम वैशाख १९ गतेदेखि दुई दिनको बिदामा घरबाट निस्किएका थिए । यस्तै शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रेपलाञ्चोक जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
दुवै जना लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । शक्ति रामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा खोजीका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको जनाएको छ । घटनाको कारण बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।