कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार धनुषाबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरेर प्रभु बैंकबाट कर्जा लिएको आरोप पाण्डेमाथि लागेको छ ।
प्रहरी अनुसन्धानअनुसार बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिइएको थियो, उक्त रकम सोही उद्देश्यमा प्रयोग नगरी अन्यत्र खर्च गरी पटक–पटक कर्जाको दुरुपयोग गरिएको पाइएको सीआईबीले जनाएको छ । उक्त कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर भएको प्रहरीको दाबी रहेकाे छ । काठमाडौँ महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा सम्बन्धित कम्पनीका एकल सञ्चालक समेत रहेको जनाएको छ ।
उच्च अदालत पाटनले वि.सं. २०८२ मङ्सिर २८ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा सीआईबीको टोलीले उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो । पाण्डे जानकी मेडिकल कलेजका अध्यक्षसमेत हुन् ।
कलेजको वेबसाइटअनुसार यो मेडिकल कलेज राम जानकी हेल्थ फाउन्डेसनद्वारा सञ्चालित हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त मेडिकल कलेज सन् २००३ मा स्थापना भएको थियो ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।