राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा सीमापारि पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना नेपाली भारतको हरियाणा राज्यमा बन्धक अवस्थामा रहेको आरोप सार्वजनिक भएपछि उनीहरूका परिवार चिन्तित बनेका छन् ।
आफन्तको सकुशल उद्धारको माग गर्दै परिवारजनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । स्थानीय बासिन्दाका अनुसार बन्धक बनाइएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन् ।
आर्थिक अभावका कारण रोजगारीको खोजीमा भारत पुगेका उनीहरू अहिले सम्पर्कविहीनजस्तै अवस्थामा रहेको र उद्धारको पर्खाइमा रहेको परिवारजनको भनाइ छ ।
पीडितमध्येकी किरण सदाले टेलिफोनमार्फत आफूहरूलाई काममा लगाइए पनि श्रमअनुसार पारिश्रमिक नदिइएको, विभिन्न बहानामा नियन्त्रणमा राखिएको तथा डर–त्रास देखाएर कुटपिटसमेत गरिएको जानकारी दिएको परिवारले जनाएको छ ।
परिवारका अनुसार पीडितमाथि भएको भनिएको दुर्व्यवहारका केही तस्बिर तथा भिडियोसमेत प्राप्त भएका छन्, जसले थप चिन्ता बढाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासमा पीडित परिवारद्वारा दर्ता गरिएको निवेदनअनुसार बर्दिबास–३ गौरीडाँडाका दिलिप परियारले आकर्षक तलब र सुविधा दिलाइदिने आश्वासन दिँदै गत चैत १३ गते उनीहरूलाई भारतको हरियाणा राज्यस्थित झज्जर थाना अन्तर्गत हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा काम गर्न लगेको उल्लेख छ । त्यसपछि उनीहरू समस्यामा परेको परिवारजनको दाबी छ ।
बर्दिबास–१४ का वडा अध्यक्ष विजयकुमार महतोका अनुसार पीडित परिवारले आफ्ना आफन्तको खोजतलास, उद्धार तथा घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा समेत निवेदन पठाएका छन् । उनले कमजोर आर्थिक अवस्थाका नागरिक रोजगारीको नाममा जोखिमपूर्ण परिस्थितिमा पर्नु दुःखद भएको बताउँदै उद्धारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमल्सिनाले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै पीडितहरूको जीवन रक्षा र सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।
घटनाले वैदेशिक तथा सीमापार रोजगारीका क्रममा हुने सम्भावित श्रम शोषण र मानव बेचबिखनजस्ता जोखिमलाई फेरि उजागर गरेको छ । गरिबी, अशिक्षा र रोजगारीको अभावका कारण विपन्न समुदायका नागरिक यस्ता प्रलोभनमा पर्न सक्ने भएकाले सचेतना र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
यता, मुसहर बस्तीमा भने आफ्ना परिवारका सदस्य सुरक्षित फर्किने आशामा दिन गन्नेहरूको प्रतीक्षा अझै जारी छ ।