नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये महत्वपूर्ण धरोहर मानिने जनकपुरधामस्थित जानकी मन्दिरलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन ।
विभिन्न समयमा सरकार, स्थानीय तह तथा गैरसरकारी संस्थाहरूले पहल गरे पनि आवश्यक प्राविधिक प्रक्रिया, अध्ययन तथा समन्वय अभावका कारण लक्ष्य पूरा हुन नसकेको हो ।
मधेश प्रदेशको राजधानी तथा प्राचीन मिथिलाको केन्द्र जनकपुरधाममा अवस्थित जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ । नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीक मानिने यो मन्दिर मिथिला सभ्यता, अद्वितीय वास्तुकला र धार्मिक महत्वका कारण विश्वसम्पदाका लागि उपयुक्त मानिन्छ ।
संस्कृति तथा पुरातत्त्व क्षेत्रका विज्ञहरूका अनुसार जानकी मन्दिरमा धार्मिक महत्वसँगै ऐतिहासिक र कलात्मक मूल्य पनि उच्च रहेको छ । तर विश्वसम्पदा सूचीमा समावेश हुन आवश्यक पर्ने विस्तृत अनुसन्धान, संरक्षण योजना, व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्राविधिक दस्ताबेज तयार गर्ने काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । उनका अनुसार उपमहानगरपालिकाले संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक नक्साङ्कनको कार्य सम्पन्न गरी पुरातत्त्व विभागलाई हस्तान्तरण गरिसकेको छ । यस प्रक्रियाले जनकपुरधामको पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनकाे विश्वास छ ।
विश्वसम्पदा विज्ञ तथा परराष्ट्रविद् डा. रामबाबु ढकालका अनुसार विश्वसम्पदा सूचीमा समावेश हुन कुनै पनि सम्पदाले निश्चित अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्छ । त्यसका लागि सम्पदाको ऐतिहासिक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वको विस्तृत अध्ययन, संरक्षण योजना, प्राविधिक दस्ताबेज तयारी तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी प्रस्तुति आवश्यक पार्नुपर्छ ।
उनका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत हुनुअघि सम्पदालाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्छ, जसका लागि मन्त्रीस्तरीय निर्णय आवश्यक हुन्छ । जानकी मन्दिर सन् २००८ मै युनेस्कोको सम्भावित (टेन्टेटिभ) सूचीमा समावेश भएपनि पूर्ण विश्वसम्पदा सूचीमा समावेश हुन अझै विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्न बाँकी रहेको छ ।
सन् २०१४ देखि अभियान
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन सामाजिक संस्था ‘भोर’ ले सन् २०१४ देखि अभियान सञ्चालन गर्दै आएको छ । संस्थाका संयोजक राजकुमार महतोका अनुसार अभियान अन्तर्गत देशव्यापी हस्ताक्षर सङ्कलन, युनेस्को तथा नेपाल सरकारलाई जानकारी र दबाब सिर्जना गर्ने कार्य गरिएको थियो ।
मन्दिर क्षेत्रमा भएका केही सौन्दर्यीकरणका कामले ऐतिहासिक मौलिकता प्रभावित गरेको भन्दै त्यसबारे पुरातत्त्व विभागलाई जानकारी गराइएको उनले बताए । प्रारम्भिक चरणमा अभियानको जिम्मेवारी स्थानीय नेतृत्वलाई हस्तान्तरण गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको र प्रयास निरन्तर जारी रहेको उनकाे भनाइ छ ।
सन् १९११ मा मुगल शैलीमा निर्माण भएको जानकी मन्दिर ‘नौलखा मन्दिर’ का नामले समेत परिचित छ । धार्मिक विश्वासअनुसार यहाँ स्थापित राम–जानकीका प्रतिमा अझ प्राचीन मानिन्छन् । प्रत्येक वर्ष नेपाल, भारत तथा अन्य मुलुकबाट हजारौं श्रद्धालु र पर्यटक यहाँ आउने गर्दछन् ।
स्थानीयवासीका अनुसार जानकी मन्दिर विश्वसम्पदा सूचीमा समावेश भए जनकपुरधामको पर्यटन, व्यापार, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचानमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।