ठोरी–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने माडी नगरपालिका–९ रातोमाटे डाँडामा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना व्यक्ति घाइते भएका छन् ।
घाइते हुनेमा पर्साको ठोरी गाउँपालिका–१ निवासी ४० वर्षीय अजित कुँवर रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार बेलुकी करिब ८ बजे माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक सडकमा आएको बाघसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक कुँवर घाइते भएका हुन् ।
घाइते कुँवरको बायाँ पाखुरा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि कुँवरले गुहार मागेपछि ठोरीस्थित अमुवा पोष्टमा रहेका नेपाली सेनाले उद्धार गरेका थिए । उनलाई तत्काल उपचारका लागि ठोरी–१ चौकबजारस्थित स्वास्थ्य चौकीमा पुर्याइएको थियो ।
तर त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।