राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशनअघि आन्तरिक विवाद चुलिएको छ ।
जिल्ला अध्यक्ष हरि पन्तमाथि गुटबन्दी, स्वेच्छाचारी शैली र विधिविपरीत प्रतिनिधि चयन गरेको आरोप लागेपछि अधिवेशन नै प्रभावित हुने अवस्था सिर्जना भएको नेताहरूले बताएका छन् । पार्टीका एक नेताका अनुसार भोलि वीरगंजमा हुने तय गरिएको जिल्ला अधिवेशन अध्यक्ष पन्तको “अलोकतान्त्रिक कार्यशैली” का कारण विवादमा तानिएको हो ।
हालै सम्पन्न वीरगंज महानगरपालिकाको आन्तरिक निर्वाचनमा आफ्नो समूह पराजित भएपछि अध्यक्ष पन्तले असन्तुष्ट शैली अपनाएको आरोप लगाइएको छ । रास्वपा सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको सन्दर्भमा पार्टीभित्र ‘म केन्द्रित प्रवृत्ति’, पदलोलुपता र स्वार्थी राजनीतिविरुद्ध सार्वजनिक रूपमा मार्गनिर्देशन जारी गरिरहेका बेला पर्सामा भने त्यसविपरीत गतिविधि भइरहेको आरोप कार्यकर्ताहरूको छ ।
स्रोतका अनुसार क्षेत्र नम्बर ४ अन्तर्गत धोबिनी, ठोरी, बिन्दवासिनी र जिराभवानी गाउँपालिकाबाट विधिसम्मत रूपमा छनोट भएका प्रतिनिधिहरूको नाम जिल्ला प्रतिनिधि सूचीमा समावेश नगरिएको आरोप छ । ती पालिकाहरूमा अधिवेशन सम्पन्न भइसके पनि आफूअनुकूल प्रतिनिधि नआएको भन्दै सूचीबाट नाम हटाइएको दाबी गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर ३ का पाँच पालिकामा अधिवेशनका लागि आवश्यक आधिकारिक पत्र नै नपठाइएको आरोप पनि लागेको छ । यसका कारण त्यहाँका कार्यकर्ताहरू महाधिवेशन तथा प्रदेश प्रतिनिधि बन्ने अवसरबाट वञ्चित भएको नेताहरूले बताएका छन् ।
कालिकामाई, छिपहरमाई र जगरनाथपुरका तदर्थ समितिलाई समेत अध्यक्ष पन्तले वैधानिकता दिन नचाहेको आरोप लगाइएको छ । पार्टीभित्र पुरानै समूहको प्रभाव कायम राख्न नयाँ पुस्ता र निर्वाचित जनप्रतिनिधिलाई पाखा लगाउने प्रयास भइरहेको असन्तुष्ट पक्षको भनाइ छ ।
यता सभापति रवि लामिछानेले हालै सार्वजनिक अभिव्यक्तिमा पार्टी विस्तारसँगै व्यक्तिगत स्वार्थ र पदकेन्द्रित सोच त्याग्न आग्रह गरेका थिए । उनले पुराना र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।
यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष हरि पन्तसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि सम्पर्क हुन नसकेको जनाइएको छ ।
- अंकुश दैनिकबाट साभार गरिएको