काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थ र सङ्कुचित चिन्ता त्यागेर ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन आह्वान गरेका छन् ।
पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत जारी जिल्ला अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र सुदृढ संगठनात्मक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन् ।
उनले रास्वपाको सर्वोपरि हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति तथा आन्तरिक लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नु नै पार्टीको मूल संस्कार भएको स्पष्ट पारेका छन् ।
सभापति लामिछानेले पार्टीलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य रहेको उल्लेख गर्दै विचार मात्र होइन, शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्नेमा जोड दिएका छन् । पुरानो सोच र प्रवृत्तिबाट माथि उठ्न नसके नयाँ जनमैत्री शक्ति बन्न कठिन हुने उनको भनाइ छ ।
उनले पार्टीभित्र पद र योगदानको हिसाब–किताब खोज्ने तथा जिम्मेवारीलाई पदोन्नतिको आधार बनाउने प्रवृत्ति देखिन थालेको भन्दै यसलाई समयमै सच्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सभापति लामिछानेका अनुसार पार्टीको उपलब्धि कुनै एक व्यक्तिको मात्र योगदान नभई मतदाताको विश्वास र सबै सदस्यहरूको सामूहिक समर्पणको परिणाम हो । उनले नयाँ पुस्ताको ऊर्जा र पुराना साथीहरूको योगदानको संयोजनबाट पार्टी अघि बढिरहेको उल्लेख गरेका छन् ।
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्नु रहेको बताउँदै उनले संगठन विस्तारसँगै व्यक्तिगत चिन्ता त्यागेर सामूहिक उद्देश्यमा केन्द्रित हुन आग्रह गरेका छन् ।
सभापति लामिछानेले पहिलो महाधिवेशन प्रक्रियालाई सभ्य, सुसंस्कृत र सन्देशमूलक बनाउन सबैलाई आग्रह गर्दै रास्वपा परिवारप्रति शुभकामना व्यक्त गरेका छन् ।