राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लामा आन्तरिक विवाद चर्किँदै गएको छ । पालिका अधिवेशनदेखि सुरु भएको दुई गुटबीचको विवाद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा थप तीव्र बनेको हो ।
पार्टीभित्र एक पक्षको नेतृत्व संस्थापक जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् भने उनलाई चुनौती दिँदै क्षेत्र नम्बर २, ३ र ४ का सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यको अर्को समूह सक्रिय रहेको बताइएको छ । जेठ १७ गते सम्पन्न वीरगंज महानगरपालिकाको प्रथम अधिवेशनमा समेत दुई गुटबीच प्रतिस्पर्धा देखिएको थियो । सो निर्वाचनमा पन्त निकटका उम्मेदवार महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गर्दै सांसदत्रय कानु, चौरसिया र शाक्य पक्षका उम्मेदवार दीपराज पटेल विजयी भएका थिए ।
यही पृष्ठभूमिमा आइतबार हुने रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशन अघि शनिबारदेखि सुरु भएको निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै अर्को समूहले अधिवेशन स्थगित गर्न माग गरेको छ ।
वीरगंजस्थित होटल गेट वे मा जारी निर्वाचन प्रक्रियाकै क्रममा शनिबार अपरान्ह सांसदत्रय कानु, चौरसिया र शाक्य पक्षले मधेस प्रदेश उपसभापति राधिका न्यौपाने साह कलवार तथा संगठन विभाग उपप्रमुख प्रमोद कुमार रायमाझीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउनेमा पार्टी सदस्य महादेव प्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेल तथा क्षेत्रीय सभापति राम आर्यलगायत रहेका छन् ।
असन्तुष्ट समूहले जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागबाट प्रतिनिधि चयन गर्दा जिल्ला सभापति पन्त पक्षले एकलौटी रूपमा निर्णय गरेको आरोप लगाएको छ । उनीहरूको दाबी अनुसार पार्टी विधान र प्रक्रियाविपरीत आफ्ना निकट व्यक्तिहरूलाई प्रतिनिधि बनाइएको छ ।
महादेव प्रसाद कुर्मीले प्रतिनिधि चयन प्रक्रिया पारदर्शी नभएको भन्दै तत्काल जिल्ला अधिवेशन स्थगित गर्न माग गरिएको बताए । उनका अनुसार विभागहरू कहिले र कुन आधारमा गठन भए भन्ने स्पष्ट नभएको र माइन्युट तथा निर्णय विवरण सार्वजनिक नगरिएकोले शंका उत्पन्न भएको छ ।
यता जिल्ला सभापति तथा सांसद हरि पन्तले भने प्रतिनिधि चयनमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । उनले सबै प्रक्रिया पार्टीको विधान र निर्देशनअनुसार नै अघि बढाइएको स्पष्ट पार्दै निर्धारित कार्यक्रमअनुसार आइतबार अधिवेशन हुने बताएका छन् । उनले निर्वाचन प्रक्रिया सुरु भइसकेको भन्दै सबैलाई ढुक्क रहन आग्रह गरेका छन् ।
रास्वपा पर्सामा सभापति पदका लागि हालसम्म संस्थापक सभापति हरि पन्त र सांसद सुशील साह कानु आकांक्षीका रूपमा देखिएका छन् ।