राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनका क्रममा भएको विवाद झडपमा परिणत हुँदा तीन जना घाइते भएका छन् ।
शनिबार वीरगंजस्थित होटल गेट वे मा जारी निर्वाचन प्रक्रियाका क्रममा दुई समूहबीच आपसी हानाहान भएको हो । आइतबार हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनको विषयलाई लिएर सुरु भएको विवादपछि पार्टीका दुई समूहबीच तनाव बढ्दै झडप भएको हो ।
घटनामा महादेव प्रसाद कुर्मी, गौतम श्रेष्ठसहित तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि शनिबार दिउँसो पार्टीका सदस्य महादेव प्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेल र क्षेत्रीय सभापति राम आर्यसहितको समूहले अधिवेशन स्थगित गर्न माग गर्दै मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरूले जिल्ला अधिवेशनका लागि १४ वटै पालिका तथा विभिन्न विभागबाट प्रतिनिधि चयन गर्दा जिल्ला सभापति हरि पन्त पक्षले एकलौटी गरेको आरोप लगाएका छन् । साथै विभाग गठन प्रक्रिया, निर्णय माइन्युट तथा आधिकारिक पोर्टलमा सूचना नदेखिएको भन्दै पारदर्शिताको माग गरेका थिए । ज्ञापनपत्र बुझिएपछि निर्वाचन समितिले केही समयका लागि निर्वाचन प्रक्रिया स्थगित गरे पनि पुनः सञ्चालन गरिएपछि विवाद चर्किएको हो ।
सोही क्रममा होटलभित्रबाट सुरु भएको विवाद सडकसम्म पुगेको र दुई समूहबीच हेल्मेट प्रहारसहित झडप भएको प्रहरीले जनाएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । झडपपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको निर्वाचन समिति संयोजक डा. नन्दन यादवले जानकारी दिए ।
उनका अनुसार अब निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सुरु गरिनेछ । पर्सामा पालिका अधिवेशनदेखि नै दुई समूहबीच विवाद रहँदै आएको छ ।
एक समूहको नेतृत्व संस्थापक जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् भने उनलाई चुनौती दिँदै क्षेत्र नम्बर २, ३ र ४ का सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यको समूह सक्रिय रहेको बताइएको छ । जेठ १७ गते सम्पन्न वीरगञ्ज महानगर अधिवेशनमा पनि दुई समूहबीच प्रतिस्पर्धा देखिएको थियो, जसमा दीपराज पटेल विजयी भएका थिए । यता जिल्ला सभापति तथा सांसद हरि पन्तले भने प्रतिनिधि चयनमा कुनै हस्तक्षेप नगरेको दाबी गर्दै सबै प्रक्रिया विधानअनुसार नै अघि बढाइएको स्पष्ट पारेका छन् ।
पर्सामा रास्वपा सभापति पदका लागि पन्त र सांसद सुशील साह कानु आकांक्षीका रूपमा देखिएका छन् ।