महोत्तरीको गौशाला नगरपालिका–१२ पररिया क्षेत्रमा निर्माणाधीन इनारभित्र काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी २१ वर्षीय बसन्त कुमार कुशवाहाका बुबा चन्द्रप्रकाश महतोले आफ्ना छोराको मृत्यु लापरवाहीका कारण भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएका हुन् । जाहेरीअनुसार निर्माणाधीन इनारभित्र रुखको जरा काट्ने क्रममा प्रयोग गरिएको मेसिनबाट निस्किएको धुवाँका कारण बसन्त कुमार निसास्सिएर बेहोस भएका थिए । उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
पीडित परिवारले गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेको छ । परिवारका अनुसार जोखिमबारे जानकारी हुँदाहुँदै पर्याप्त सुरक्षा व्यवस्था नगरी काममा लगाइएकाले गम्भीर लापरवाही भएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, घटनास्थल मुचुल्का र प्रत्यक्षदर्शीको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ । वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन । यो घटनाले स्थानीय तहअन्तर्गतका निर्माण कार्यमा श्रमिक सुरक्षाको विषय पुनः गम्भीर बहसमा ल्याएको छ ।
पीडित परिवारले दोषीमाथि कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गरेको छ ।