सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक अधिवेशनमार्फत नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला मधेश प्रदेशका जिल्लाहरूमा आन्तरिक विवादका कारण जिल्ला अधिवेशनहरू प्रभावित भएका छन् ।
बारामा जिल्ला अधिवेशनको क्रममा विवाद चुलिएपछि नेतृत्व चयन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ । रौतहट र पर्सामा शनिबार सुरु भएको जिल्ला अधिवेशन प्रक्रिया पनि विवादका कारण बीचमै रोकिएको छ । धनुषा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ भने सिराहामा आइतबार जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ ।
सप्तरी जिल्लामा भने २५ गते अधिवेशन गर्ने तय गरिएको छ । तर श्रम मन्त्री रामजी यादव समूह र अर्को समूहबीच विवाद बढ्दै जाँदा प्रतिनिधि छनोटमै समस्या देखिएको छ, जसका कारण निर्धारित समयमा अधिवेशन हुनेमा शंका उत्पन्न भएको छ ।
रौतहटमा गरुडामा सुरु भएको अधिवेशन पनि विवादका कारण रोकिएको छ । जिल्ला सभापति प्रदीप साहका अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेसम्मको समयसीमा तोकिएको छ। सो समयभित्र सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने बताइएको छ ।
जिल्ला सभापति पदका लागि क्षेत्र नम्बर १ का सांसद राजेश चौधरी, वर्तमान सभापति प्रदीप साह र युवा नेता रविन्द्र यादव आकांक्षी रहेका छन्। यद्यपि पार्टीभित्र वर्तमान सभापति साहलाई पुनः सर्वसम्मत नेतृत्व दिनेबारे आन्तरिक छलफल पनि जारी छ ।
पार्टीभित्र संस्थापक समूह र पछिल्लो समय प्रवेश गरेका नेताहरूबीच मतभेद देखिएको छ। संस्थापक पक्षले संगठन निर्माणमा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गरिरहेको छ भने नवप्रवेशी नेताहरूले विभेदपूर्ण व्यवहार भएको गुनासो गरेका छन् ।
केन्द्रीय नेतृत्वले सांसदहरूलाई जिल्ला नेतृत्वमा प्रतिष्पर्धा नगर्न निर्देशन दिए पनि अधिकांश जिल्लामा सांसदहरू नै नेतृत्वको प्रतिस्पर्धामा देखिएका छन् । यसले पनि विवाद बढाएको आरोप छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेश प्रदेशका जिल्लाहरूमा देखिएको विवादले रास्वपाको संगठनात्मक संरचना निर्माणमा ढिलाइ हुने र आगामी अधिवेशनसमेत प्रभावित हुन सक्ने देखिएको छ ।
देशभर ७७ जिल्लामध्ये ६७ जिल्लामा अधिवेशन सुरु भए पनि कतिपय स्थानमा विवादका कारण प्रक्रिया स्थगित भएको छ। बाँकी १० जिल्लामा भने राष्ट्रिय महाधिवेशनपछि अधिवेशन गर्ने तयारी गरिएको छ ।
रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको छ । महाधिवेशनअघि वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्देशन भए पनि मधेश प्रदेशमा देखिएको विवादले निर्धारित तालिका प्रभावित हुने संकेत देखिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनहरू पार्टी सुदृढीकरणको महत्वपूर्ण चरण भएको भन्दै निष्पक्ष निर्वाचनमार्फत मात्र नेतृत्व चयन हुने बताएका छन् ।