जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्दामा दोषी ठहर भई दण्ड तथा जरिवाना सजाय सुनाइएपछि लामो समयदेखि फरार रहेका १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार चेक अनादर, कुटपिट तथा लेनदेन बिगोसम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका गरुडा नगरपालिका–५ निवासी ओमनाथ गिरी, शिवशंकर पाण्डे, राकेश कुमार जैसवाल, गरुडा–३ निवासी पनिलाल सहनी, कटहरिया नगरपालिका–७ निवासी सोनालाल भगत, माधवनारायण नगरपालिका–४ निवासी परशुराम यादव र राजदेव यादव, तथा गढीमाई नगरपालिका–९ निवासी राम ईश्वर सहनीलगायत १० जना रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको ६ हजार ७ सय रुपैयाँ जरिवाना असुल गरिनेछ। साथै फैसला कार्यान्वयनका लागि उनीहरूलाई मंगलबार जिल्ला अदालत रौतहटमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।