भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य ठेक्का सम्झौताअनुसार तोकिएको समयभित्र सम्पन्न नहुने संकेत देखिएको छ । ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार रङ्गशालाको निर्माण २०८३ पुस २२ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।
हालसम्म रङ्गशालाको एकवटा दर्शक टावर निर्माण सम्पन्न भएको छ भने अर्को दर्शक टावरको दोस्रो तलाको ढलान सम्पन्न भइसकेको छ । चारवटा प्यारापिटमध्ये एकवटाको निर्माण पूरा भएको, दुईवटाको ढलान सकिएको तथा बाँकी एकवटाको निर्माण कार्य जारी रहेको महानगरपालिकाले जनाएको छ ।
क्रिकेट मैदान निर्माणको काम पनि सुरु भइसकेको छ। मैदानमा पाँचवटा अन्तर्राष्ट्रियस्तरका क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन् ।
निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रङ्गशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरको १९औँ नगरसभाबाट बाँकी निर्माण कार्य सम्पन्न गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारिएको छ ।
यद्यपि, बागमती प्रदेश सरकारले यस आयोजनाका लागि बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्षमा संघीय सरकारले भने कुनै बजेट छुट्याएको छैन । यसबीच महानगरपालिकाले महानगर क्रिकेट कप, फुटबल लिगलगायत विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य प्रारम्भमा धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको थियो । आर्थिक तथा व्यवस्थापकीय समस्याका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसपछि महानगरपालिकाले बागमती प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा निर्माण कार्य पुनः अघि बढाएको हो ।