सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनामा न्याय नपाएको भन्दै इलाका प्रहरी कार्यालय गोलबजार पुगेका पीडित परिवारले प्रहरीबाट दुव्र्यवहार भएको तथा आफ्ना आफन्तलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।
प्रहरीले भने उक्त आरोप अस्वीकार गर्दै कार्यालयमा उत्पन्न भएको हो–हल्ला र तनावपूर्ण अवस्था नियन्त्रण गर्नका लागि मात्र एक जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । पीडित पक्षका अनुसार बाख्रासम्बन्धी सामान्य विवादबाट सुरु भएको झडपमा समसाद लहेरी, उनकी पत्नी जरिना खातुन तथा रुबो खातुन र कैस खातुनबीच कुटाकुट भएको थियो । झगडा छुट्याउन पुगेकी जरिना खातुनसमेत कुटपिटमा परेकी थिइन् ।
घटनामा श्रीमान–श्रीमती दुवै घाइते भएपछि उनीहरूलाई प्रारम्भिक उपचारका लागि गोलबजारस्थित एक निजी स्वास्थ्य संस्थामा लगिएको थियो । अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको र १२ दिनको उपचारपछि घर फर्किएको परिवारले जनाएको छ । घटनापछि वडा कार्यालयदेखि प्रहरी प्रशासनसम्म पटक–पटक गुहार्दा पनि हालसम्म न्याय नपाएको पीडित पक्षको गुनासो छ । जरिना खातुनका अनुसार घटनासम्बन्धी निवेदन दिएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले कुनै ठोस कारबाही अघि नबढाएको आरोप छ ।
पीडितका अनुसार बिहीबार बिहान करिब ११ बजे छलफलका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा बोलाइए पनि विपक्षी पक्ष उपस्थित नभएको उनीहरूको भनाइ छ । त्यसपछि आफूहरूलाई मात्र पटक–पटक बोलाएर फर्काउने गरिएको भन्दै गुनासो राख्दा प्रहरीले गालीगलौज गर्दै कार्यालयबाट बाहिर निकालेको जरिना खातुनले आरोप लगाएकी छन् ।
समसाद लहेरीले पनि प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफूले विरोध जनाएपछि आफ्ना भतिजा अफ्ताव लहेरीलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन् । उता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले पीडित पक्षले लगाएका आरोप अस्वीकार गरेका छन् । उनका अनुसार घटनामा कुनै व्यक्तिलाई मुद्दाका आधारमा थुनामा नराखिएको र कार्यालयमा हो–हल्ला तथा तनावपूर्ण अवस्था सिर्जना भएपछि स्थिति सामान्य बनाउनका लागि मात्र एक जनालाई नियन्त्रणमा लिइएको हो ।
डीएसपी पालले घटनाबारे थप जानकारी संकलन भइरहेको तथा आवश्यक अनुसन्धानपछि कानुनअनुसार प्रक्रिया अघि बढाइने बताएका छन्।