महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा पतिपत्नीलाई गोली प्रहारगरी डकैती गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
गत जेठ २० गते राति स्थानीय रामविश्वास यादवको घरमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूसहितको डाँका समूहले घरमा सुतिरहेका यादवकी छोरी किरण यादवलाई खुट्टामा दुई गोली तथा उनका ज्वाइँ ईश्वरनारायण यादवलाई दाहिने हातमा एक गोली प्रहार गरी घाइते बनाएको थियो ।
गोली लागेर घाइते भएका यादव दम्पतीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ परेका तीन जनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाएको छ ।