कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालय परिसरभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि जाहेरी दर्ता नभएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।
मंगलबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमार्फत कर्मचारीहरूले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न तथा सरकारी कर्मचारीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका हुन् ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीका अनुसार कालिकामाई गाउँपालिका–३ का वडा अध्यक्ष सञ्जयकुमार पटेलसहित तीन जनाविरुद्ध किटानी जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिइएको भए पनि हालसम्म जाहेरी दर्ता नभएको आरोप लगाइएको छ ।
घटनामा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै कर्मचारीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यक्रमअनुसार असार ३१ गते र साउन १ गते कर्मचारीहरूले कालोपट्टी बाँधेर सीमित समयका लागि मात्र कार्यालय सञ्चालन गर्नेछन् । यस्तै, साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय पर्साअघि धर्ना कार्यक्रम आयोजना गरिने तथा त्यसपछि पनि माग सम्बोधन नभए साउन ६ गतेदेखि गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरी कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाउने चेतावनी कर्मचारीहरूले दिएका छन् ।
पीडित कर्मचारी चन्दनकुमार चौरसियाले आफूमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको दाबी गर्दै घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लले कर्मचारी पक्षबाट आपराधिक उपद्रवसम्बन्धी जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।