पर्साको पोखरिया नगरपालिकाको लेखा शाखामा विगत १० दिनदेखि निरन्तर लागेको तालाका कारण दैनिक प्रशासनिक कार्य प्रभावित भएको छ भने सेवाग्राहीहरू चरम सास्ती व्यहोर्न बाध्य भएका छन् ।
लेखा शाखामा तालाबन्दी जारी रहँदा भुक्तानी, आर्थिक कारोबार तथा अन्य प्रशासनिक सेवा प्रभावित भएका छन् । यसका कारण नगरपालिकाबाट सेवा लिन आउने सर्वसाधारण, उपभोक्ता समिति तथा विभिन्न योजनासँग सम्बन्धित सेवाग्राहीहरू समस्यामा परेका छन् भने कार्यालयको नियमित कार्यसम्पादनसमेत प्रभावित बनेको छ । समयमै समस्याको समाधान हुन नसक्दा यसको प्रत्यक्ष मार सर्वसाधारण जनतामाथि परिरहेको छ ।
तलबको माग गर्दै पोखरिया नगरपालिकाका बाल विकास शिक्षिका तथा कार्यालय सहयोगीहरूले प्रमुख प्रशासकीय अधिकृत तथा लेखा शाखामा तालाबन्दी गरेका थिए ।
नगरपालिकाको मुख्य मेरुदण्ड मानिने लेखा शाखा नै ठप्प हुँदा आर्थिक वर्षको महत्त्वपूर्ण समयमा विकास निर्माणका कामहरू समेत रोकिने अवस्था आएको छ । स्थानीयहरूले सेवाग्राहीको अधिकारलाई बन्धक बनाएर गरिएको यस प्रकारको तालाबन्दी तुरुन्त खोली वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न र सेवा प्रवाहलाई तत्काल सुचारु गर्न जोडदार माग गरेका छन् ।